क्वारेन्टाइनमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि
बाजुरा, बाजुराको एक क्वारेन्टाइनमा आत्महत्या गरेका एक व्यक्तिमा दाहसँस्कार गरेपछि कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।
अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि ६ दिनपछि बिहीबार मात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले जानकारी दिएका छन् ।
बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा आएर बसेका थिए । उनी दमको बिरामी रहेको पाइएको मेयर बडुवालले जानकारी दिएका छन् ।
बडुवालका अनुसार शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । ‘आर्थिक अवस्था निकै कमजोर थियो,’ बडुवालले भने ‘गरिबीकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छौ । यकिन कारण अझै खुलेको छैन ।’
आत्महत्यापछि उनको शवलाई क्वारेन्टिन भन्दा केही तल खोला नजिक व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराइले जानकारी दिएका छन् । उनले भने, ‘कोरोना पुष्टि नहुँदै पनि कुनै लापरवाही गरेनौं ।’ उनको शव व्यवस्थापनमा उनका दुई जना आफन्त नै खटिएका थिए ।
बिगत २४ वर्षदेखि भारत बस्दै आएका उनी श्रीमती र छोराछोरीसँगै नेपाल फर्किएका थिए । अहिले उनको परिवारका सदस्यहरु क्वारेन्टिनमै बसिरहेका छन् ।

