क्वारेन्टाइनबाट भागेर घर गएका १८ जनामा कोरोना संक्रमण

धनगढी,  कैलालीको गौरीगंगा नगरपालिका–१ का १८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित घरमै बसेको पाइएको छ। गौरीगंगा–१ स्थित पशुपति माविमा बनाइएको क्वारेन्टाइनबाट भागेर घरमा गएका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँमा त्रास बढेको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले गत बुधबार गौरीगंगा नगरपालिकाका ती १८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो। वडाध्यक्ष जगतराम चौधरीका अनुसार जेठ ३० गते क्वारेन्टाइनबाट भागेका ५० मध्ये १८ जनालाई कोरोना संक्रमण देखिएको हो। उक्त क्वारेन्टिनमा जेठ ८, ९, १० र ११ गते भारतबाट फर्किएका व्यक्तिलाई राखिएको थियो।

स्थानीय ठक्कर रावतले क्वारेन्टिनबाट भागेर घरमा बसेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्रासका कारण घरबाहिर ननिस्किएको बताए। “कोरोना संक्रमणको त्रासका कारण दैनिक उपभोग्य सामग्री लिन जान पनि सकिएको छैन,” उनले भने।

नेपाली कांग्रेस, कैलाली क्षेत्र नम्बर ४ का सभापति एवं स्थानीय दिनेशराज जोशीले कोरोना संक्रमित घर तथा समाजमा घुलमिल भएपछि स्थानीय आतंकित भएको बताए। राज्य संयन्त्रको लापरवाहीका कारण क्वारेन्टिनमा रहेका मानिस भागेर घर जानुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

“क्वारेन्टाइन व्यवस्थापन एकदमै फितलो देखियो,” उनले भने, “क्वारेन्टिनमा रहेको २२–२३ दिनपछि कोरोना परीक्षण गरिनु, परीक्षणको १० दिनसम्म पनि नतिजा नआएकाले यो अवस्था सिर्जना भएको हो,” उनले भने।

नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले क्वारेन्टिनबाट भागेका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई नगरपालिकामै निर्माण गरेको आइसोलेसनमा राख्न घरमै जाँदा पनि कसैले नमानेको बताइन्।

“कतिपयले रोपाइँको सिजन छ भने त केहीले घरमै बस्छु भने,” उनले भनिन्।

तीमध्ये दुई जनालाई भने नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा राखिएको उनले बताइन्।

कांग्रेस क्षेत्र नम्बर ४ का सभापति जोशीले संक्रमण समुदायमा फैलन नदिन कम्तीमा नगरपालिकाको वडा नम्बर १ लाई सिल गर्न आवश्यक रहेको बताए। “कोरोना संक्रमित गाउँमा घुलमिल भइसकेकाले वडा नम्बर १ लाई सिल गर्न आवश्यक भइसकेको छ, अन्यथा भयावह स्थिति देखिन सक्छ,” उनले भने।

उनले संक्रमितका परिवारका सदस्यको पीसीआर परीक्षण गर्न माग गरे। तर, नगरपालिकाको स्वास्थ्य महाशाखा स्रोतले भने संक्रमितका परिवारको पीसीआर परीक्षण आवश्यक नभएको जनाएको छ।

“संक्रमितलाई क्वारेन्टिनमै राखेको १४ दिनभन्दा बढी भइसकेकाले संक्रमितमा कोरोना भाइरस निष्क्रिय भइसकेको छ, त्यसकारण पीसीआर परीक्षण आवश्यक छैन,” महाशाखाको स्वास्थ्य महाशाखा स्रोतले भन्यो।

अन्यत्र संक्रमण फैलन नदिन उक्त वडालाई रेड जोन घोषणा गरिएको नगरपालिकाको स्वास्थ्य महाशाखा स्रोतले बताएको छ। गौरीगंगामा अहिलेसम्म ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ।