भालुवाङमा ब्यामशाला बनाउने नाममा सामुदायिक वन अतिक्रमण
भालुवाङ, दाङको भालुवाङमा जिम घर (ब्यामशाला) बनाउने नाममा सामुदायिक वन अतिक्रमण गरिएको छ । देउखुरी स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङमा वन अतिक्रमण भएको स्थानीयबासीले बताएका हुन ।
राप्ती गाउँपालिकाको अगुवाईमा राप्ती गाउपालिका वडा नम्बर १ का केही ब्यक्तिहरुले जिम घर (ब्यामशाला) निर्माणका सामुदायिक वन नै अतिक्रमण गरेपछि उक्त वन समूहका उपभोक्ताहरूले बिरोध समेत जनाएका छन् ।
चालु आर्थिक वर्षमा ४ लाख ५० हजार रूपैयाँ अनुदान स्विकृती भएको र सो जिम घर निर्माणका लागि डिभिजन वन कार्यालय लमही, राप्ती गाउँपालिका, सव डिभिजन वन कार्यालय मसुरिया र सम्बन्धित राप्ती समुदायिक वन उपभोक्ता समुहसंग कुनै सहमति र अनुमती नलिई डोजर लगाई वनको जग्गा सम्याउदै गर्दा सव डिभिजन वन कार्यालय र राप्ती गाउँपालिका मसुरियाले उक्त कार्य रोकिदिएको छ ।
यस बिषयमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र वडा नं। १ का वडा अध्यक्ष ताराबहादुर डिसी संग सम्पर्क गर्दा आफुहरुको काम वडाबासीले आवश्यक अनुदान माग गरे दिने र ठाउँ छनोट गर्ने जिम्मा सम्बन्धित योजनाको निर्माण उपभोक्ता समितिको रहेको बताएका छन् । निर्माण गर्दा उपभोक्ता समितीले आफूहरू संग कुनै समन्वय नगरेको समेत बताएका छन् ।
यस सम्बन्धमा राप्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खिमविक्रम शाहसंग सम्पर्क गर्दा आफूले यस विषयमा जानकारी नभएको भन्दै पन्छिन खोजेका छन् ।
राप्ती गाउँपालिका सव डिभिजन वन कार्यालय मसुरियाका निमित्त सहायक वन अधिकृत एवं फरेष्टर निम बस्नेतसँग बुझ्दा राप्ती गाउँपालिका १ भालुवाङ स्थित राप्ती सामुदायिक वनको भालुवाङ प्यूठान सडक खण्डको उत्तर तर्फ उक्त सामुदायिक वनको क खण्डमा मनोमानी ढंगले डोजर प्रयोग गरी सामुदायिक वन सम्माउने कार्य भएको र सो कार्य गाउँपालिकाकै अगुवाईमा भएको देखिएकोले उक्त कार्य अवैध भएको हुँदा सो कार्य गर्नेलाई कारवाही गरिने वताएका छन् ।