‘१० अर्बको जवाफ’ प्रधानमन्त्री भन्छन् : कतिलाई हिसाब चाहिएको छ
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए ।
प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको न्युनीकरणका लागि सरकारले गरेको कामप्रति कुनै प्रशंसा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
“जनप्रतिनिधि काममा लागेका छन्, त्यता ध्यान छैन । कामप्रतिको प्रशंसा छैन । तर दैनिक हिसाब किताब चाहिएको छ । खोइ पैसा ? भनिएको छ,” प्रधानमन्त्रीको भनाइ थियो, “१० अर्बको हिसाब एक एक गरी महालेखामा हुन्छ ।
बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो ।’
स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए ।
खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’
हरेक व्यक्तिले हेर्न सक्छ । म बाहेक सबै भ्रष्ट छन् भन्ने ठान्न भएन । यो देशमा भ्रष्टबाहेक कोही जन्मिदैन भन्न भएन । सरकारमा बसेकालाई जसरी पनि बदनाम र चरित्रहत्या गर्ने नियत पनि राख्नुभएन ।”