संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं,  लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) प्रतिनिधि र राष्ट्रियसभा दुवैबाट सर्वसम्मत पारित विधेयकलाई प्रमाणित गरेसँगै यसले संवैधानिक मान्यता पाएको हो ।

आज (बिहीबार) बसेको राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले सो बिधेयकको पक्षमा मत दिएका थिए । योसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सालाई सरकारले हालै जारी गरेको नयाँ नक्सा दुवै सदनबाट पारित गरेको हो । यसअघि प्रतिनिधि सभाले पनि सर्वसम्मतिले पारित गरेको थियो ।

सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । सोहिअनुसार जेठ ९ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।