नेकपाले असार १० गते बोलायो स्थायी कमिटी बैठक

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही असार १० गते बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा एमसीसीलगायत समसामयिक विषयमा छलफल बताइएको छ।

स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बसेर कार्यसूची तय हुनेछ। 

अध्यादेश प्रकरणपछि स्थायी कमिटीका २० जना सदस्यले वैशाख १० गते लिखितरूपमा बैठकको माग गरेका थिए । उनीहरूको मागलाई सम्बोधन गर्न वैशाख २५ गते बैठक बोलाइएको थियो ।

तर, वैशाख २४ गते अध्यक्ष केपी शर्मा ओलीले बैठक छाडेर हिँडेपछि स्थगित भएको थियो । त्यसपछि वैशाख ३१ गते पुनः तय भएको थियो । त्यतिबेला पनि कोरोनाको जोखिम बढेको भन्दै बैठक स्थगित गरिएको थियो ।

नेकपामा एमसीसी निकै पेचिलो बन्दै गएको छ । स्थायी कमिटीको चौथो बैठकमा ठूलै विवाद भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल बनाएको थियो । झलनाथ खनाल संयोजक, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले फागुनको दोस्रो साता नै प्रतिवेदन बुझाइसकेको छ । कार्यदललको प्रतिवेदनमाथि छलफल हुनेभने पाएको छैन ।