जहाँ पृथ्वीको सबैभन्दा स्वच्छ हावा पाइन्छ
एजेन्सी, पहिलोपटक वैज्ञानिकहरुले पृथ्वीको सबैभन्दा स्वच्छ हावा भएको ठाउँ पत्ता लगाएका छन् जहाँको वायु मानव गतिविधिका कारण उत्पन्न फोहोरका कणहरुरहित भएको बताइएको छ । सो क्षेत्र एन्टार्टिकाको आसपासमा दक्षिण समुद्रतर्फ अवस्थित रहेको उनीहरुले बताए ।
कोलोराडो स्टेट युनिभर्सिटीका खोजकर्ताहरुका अनुसार यो यस प्रकारको पहिलो अध्ययन हो । उनीहरुका अनुसार सो ठाउँ प्राचीन समयदेखि जस्ताको त्यस्तै छ र मानव क्रियाकलापबाट कुनै रुपमा प्रभावित वा परिवर्तित भएको छैन ।
पछिल्लो समय मान्छेकै कारण वृद्धि भएको जलवायु परिवर्तन प्रकृयाले पृथ्वीका विकट र सुनसान क्षेत्रमा समेत वातावरणीय असरबाट बच्न सकेको छैन जसकारण पूर्ण रुपमा प्राकृतिक र मान्छेबाट हानि नपुगेका ठाउँ खोज्न विज्ञहरुले ठूलै संघर्ष गर्नुपर्ने अवस्था आएको छ । तर प्रोफेसर सोनिया रउनको टोलीले पृथ्वीमा जतिसुकै धुँवाधुलो भएपनि दक्षिण समुद्रतर्फको हावा केही फरक भएको शंका गरि परीक्षण गरेका हुन् ।
यसपछि नै उनीहरुले दक्षिण समुद्री क्षेत्रस्थित तल्लो सतहको हावा पूर्णरुपमा ‘एरोसोल कण’ रहित भएको पत्ता लगाएका हुन् । एरोसोल कण मानव क्रियाकलाप जस्तै, काठदाउरा बाल्ने, इन्धनजन्य धुँवाको, खेतीपाती, किटनाशकको उत्पादन र फोहोर पानी व्यवस्थापन लगायतका कारण उत्पन्न भइरहेको हुन्छ । एरोसोलले नै वायु प्रदुषण गराउँछ जसमा ठोस र तरल पदार्थका साथै ग्यास पनि हावामा छाडिएका हुन्छन् ।
यसमा अनुसन्धानकर्ताहरुले तल्लो वायुमण्डल सतहमा हावाका विशेषताबारे बुझ्न ब्याक्टेरियाको प्रयोग गरेका हुन् । त्यहाँको अति स्वच्छ हावामा के छ, कहाँबाट आएको हो भन्ने जस्ता गुणबारे थाहा पाउन उनीहरुले थप अनुसन्धान गरे ।
यसपछि दक्षिण समुद्र तर्फको हावामा एरोसोल नहुनु पछाडिको कारण समुद्रको जैविक प्रक्रिया रहेको प्रमुख अध्ययनकर्ता थोमस हिल बताउँछन् । अन्टार्टिकाको सो ठाउँ सुक्ष्मजीवहरुबाट धेरै अलग रहेको उनले बताए । यसरी दक्षिण समुद्र पृथ्वीका ती दुलर्भ ठाउँहरुमा पर्दछ जहाँको वातावरण मान्छेका कारण कुनैपनि रुपमा प्रभावित भएको छैन ।
गत सोमबार ‘जर्नल प्रोसिडिङ्स अफ द नेस्नल एकेडेमी अफ साइन्सेस’ मा प्रकाशित यस अध्ययनलाई वैज्ञानिकहरुले वास्तविकमै आश्चर्यजनक बताएका हुन् ।
किनकि वायु प्रदुषण अहिले विश्वव्यापी स्वास्थ्य संकटमा परिणत भइसकेको छ जसका कारण वर्षमा ७० लाख मान्छेको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ । साथै वायु प्रदुषण उत्पन्न भएको ठाउँबाट धेरै टाढा टाढासम्म पनि पुग्ने गरेको हुनाले पनि उनीहरुले आश्चर्य जनाएका हुन् । सीएनएनबाट