अब भारतले दार्जिलिङ पनि फिर्ता दिनुपर्छ – दीनानाथ शर्मा

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले नेपाललाई भारतले दार्जिलिङ पनि सगौरव फिर्ता दिनुपर्ने बताएका छन् ।

बिहीबार लिम्पियाधुरासहितको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक पारित गर्न बसेको राष्ट्रिय सभा बैठकमा नेता शर्माले अंग्रेजले हडपेको नेपालको दार्जिलिङलगायत काँगडासम्मको भूभाग नासो हो भन्दै भारतले सगौरव फिर्ता गर्नुपर्ने बताएका हुन् ।

‘चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भनेर भारतका नेताहरू भन्नुहुन्छ । यदि त्यसो हो भने सगौरव दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ ।’ शर्माले भने, ‘अंग्रेजले लुटेको यो तपाईंहरूको नासो हो भनेर काँगडासम्मको जमिन फिर्ता गर्नुपर्छ।’

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सम्बन्ध जनता र आध्यात्मिक रूपमा भएको कुरालाई उल्लेख गर्दै शर्माले हिन्दु धर्मले अरूलाई दुःख दिन हुन्न भन्ने मान्यता भारतले पालना गर्नुपर्ने बताए । भारतीय नेताहरूले हिन्दु धर्मको कुरा गर्ने तर हिन्दु धर्मले अरुको चित्त दुखाउनु हुन्न भन्ने कुराको पालना नगरेको उनको भनाइ थियो ।