कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,१०४

सुर्खेत, कर्णालीमा प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २, सुर्खेतका २ र कालिकोटका १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार १ सय ४ पुगेको छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार थपिएका संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका-५ का एक, लेकबेसी नगरपालिका-३ का एक, दैलेखको भैरवी गाउँपालिका- ७ का एक र भगवतीमाइ गाउँपालिका-७ का एक जना छन्।

त्यस्तै सान्नीत्रिवेणी गाउँपालिका-२ का ७, वडा नं. ३ का ६ र वडा नं ५ मा एक जना संक्रमित रहेकाे मन्त्रालयले जनाएको छ।

दैलेख र सुर्खेतका प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कालिकोटका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षणले संक्रमण पुष्टि भएकाे हो। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय चार पुगेको छ ।

त्यस्तै आज दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट १ सय ६ जना, नारायण क्याम्पस, जिल्ला अस्पतालको आइसोलेसनबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनबाट ३ जना गरी कुल १ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ सय ९४ पुगेको छ। यद्यपि कर्णालीमा ३ जनाको भने कोरोनाका कारण मृत्यु भइसकेको छ।