‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि

सुर्खेत, सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती महिलामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार ती महिला जेठ १२ गते भारतबाट नेपाल आएकी थिइन् । भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।

ती महिलाले यही असार १ गते, सोमबार आत्महत्या गरेको जनाइएको छ । उनको शव असार २ गते मंगलबार पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो ।

भारतबाट आएको भनेपछि अस्पतालले मृतक महिलाको शव पोष्टमार्टम गर्नुअघि मंगलबार साँझ नै वाब संकलन गरेको थियो । उनको बुधबार आएको रिपोर्ट पोजेटिभ देखिएको डा. तिवारीले बताए ।

कर्णाली प्रदेशमा यसअघि ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।