सहयोगको बहानामा मनोमानी शुल्क उठाउँदै नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय
भालुवाङ , राप्ती गाउँपालिका वार्ड नम्बर १ भालुवाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भालुवाङ प्रशासनले विद्यार्थी भर्ना गर्दा र पाठ्यपुस्तक बितरण गर्दा छात्रछात्राहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ । सरकारको नियम बिपरित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भालुवाङ प्रशासनले अभिभावक सहयोगका नाममा शुल्क उठाएको पाइएको हो ।
सरकारले कक्षा १ देखि कक्षा १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाकालागि शिक्षा निशुल्क भनेको छ । तर बिपदको बेलाको फाइदा उठाउदै उक्त बिद्यालयले शैक्षिक सत्र शुरू हुँदा भर्ना शुल्क र पाठ्यपुस्तकका लागि अभिभावक सहयोग भन्दै शुल्क उठाउने गरेको अभिभावकहरूले गुनाशो गरेका छन । सरकारले हालै मात्र नयाँ शैक्षिक ऐन लागु गरेको छ र जसमा कुनैपनि प्रकारको शुल्क विद्यार्थीबाट उठाउन नपाउने गरि व्यवस्था गरेको छ ।
तर यस व्यवस्थाका विपरीत राप्ती गाउँपालिका वार्ड नम्बर १ भालुवाङ स्थित नेपाल राष्ट्रिय मावि भालुवाङ प्रशासनले विद्यार्थी भर्ना गर्दा र पाठ्यपुस्तक बितरण गर्दा छात्रछात्राहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ । विद्यालय प्रशासनले कक्षा १ देखि कक्षा १० सम्म प्रति विद्यार्थी रू एक सय, दुई सय, तीन सय, चार सय, पाँच सय, १३ सय, १५ सय, १७ सय, २ हजार र २२ सयका दरले शुल्क उठाईरहेको छ ।
गत चैत ११ गते देखि झण्डै तीन महिना देखि जारी लकडाउनको मार खेपिरहेका अभिभावकहरू सरकारले आफ्ना बालबालिकाका लागि उक्त विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरूलाई निशुल्क पाठ्यपुस्तक वितरण र भर्ना गरिदिने सुचनाले हर्षित भएका थिए । तर सोही अनुसार आफ्ना बालबालिकाका लागि पाठ्यपुस्तक ल्याउन र भर्ना गर्न विद्यालय पुग्दा माथि उल्लेखित रकम विद्यालय प्रशासनले मागेपछि निरास भई भर्ना नै नगरी रित्तै घर फर्किएका थिए ।
उक्त विद्यालयमा अध्ययन गर्ने ९० प्रतिशत बालबालिकाका अभिभावक ज्यालामजदुरी गर्ने, सडक पेटीहरूमा बसेर मकै पोल्ने, अर्काका घरमा जुठो भाडा माझ्ने, विदेश र भारतमा गई श्रम गर्ने जनजाति, दलित, अल्पसंख्यक मुस्लिम तथा मैथली भाषी अभिभावक रहेका छन् ।
विद्यालय प्रशासनले सरकारको कार्वाहीको डरबाट बच्नका लागि विद्यार्थीको नाम र कक्षा उल्लेख्य गरि अभिभावक सहयोग शुल्क रकम भनेर छदम रसिद प्रयोग गरेको पाईएको छ ।
यस्तो भन्छन सरोकारवालाहरू
यस सम्बन्धमा बिद्यालय ब्यवस्थापन समिति तथा विद्यालय प्रशासनसंग प्रश्न गर्दा हामीले हाम्रो अधिकार प्रयोग गरेका छौं भन्ने तर्क गरेको छ ।
यसै बिषयलाई लिएर राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई अभिभावकहरूले सोध्दा यस बिषयमा आफू अनविज्ञ भएको बताएका छन । उनले सोही वडाका वडाध्यक्ष एवम् विव्यस पदेन सदस्य तारा डिसीलाई सोध्नुस् भनेर आफ्नो जिम्मेवारीबाट समेत पन्छिएका छन ।
त्यसैगरी राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकको ध्यानकर्षण गराउँदा विद्यालयले शुल्क उठाउँदा पत्रकारहरूलाई के को टाउको दुखाई भयो रु भनेर प्रति प्रश्न गरेका छन । उनले बिद्यालयले स्वबिबेकमा सहयोग स्वरूप उठाउन सक्ने दाबी समेत गरेका छन ।
सोही बिषयमा भने राप्ती गाउँपालिकाका सामाजिक विकास संयोजक एवम् ७ नम्बर वडाध्यक्ष विद्याशरण चौधरीले नियम बिपरित काम गर्ने उक्त विद्यालयका प्रअ लगायत शुल्क उठाउन संलग्न समिती वा व्यक्ति जो कोहीलाई पनि कार्वाही गरिने बताए ।
यस बिषयमा उक्त विद्यालय व्यवस्थापन समितिका पुर्व कार्यवाहक अध्यक्ष एवम् स्थानीय पत्रकार महेश रिजालसंग सम्पर्क गर्दा राज्यको निति विपरीत विद्यार्थीहरूबाट शुल्क उठाउने उक्त विद्यालयमा प्रअ तथा संम्लग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई कार्वाही गर्नुपर्ने बताए ।
यस्तो छ रसिद