दुबईमा कोरोना संक्रमणबाट दाङका एक युवाको मृत्यु

भालुवाङ,  काेराेना संक्रमणबाट दाङ राप्ती गाउँपालिकाका एक नेपाली युवाकाे दुबईमा मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी ३९ वर्षीय धनीराम सुवेदीको जेठ ३० गते कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएकाे छ ।

दाङ-देउखुरी समाजका वरिष्ट उपाध्यक्ष समेत रहेका सुवेदीले दुबईमा आफ्नै होटल समेत सञ्चालन गर्दै आएका थिए । होटल सञ्चालनका क्रममा उनी सामाजिक अभियान्ताको रूपमा राहत वितरण गर्दै जाँदा एक्कासी निमोनिया भएपछि २१ दिन हस्पिटलमा भर्ना भएका थिए । सुवेदीको दुवईमै पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । रिपोर्ट झिकाउन नेपालबाट सिफारिस बनाएर दुबई स्थित नेपाली दूतावासमा पठाउनु पर्ने भएकोले आज सिफारिस बनाएर पठाउने प्रक्रियामा रहेको पारिवारिक स्रोतले बताएको छ । मृतकलाई नेपाल ल्याउने वा उतै दाहसंस्कार गर्ने भन्ने विषयमा भने अन्याैल रहेको छ ।