बिरामीमा कोरोना देखिएपछि मेडिकल कलेज कोहलपुर सिल

कोहलपुर, बिरामीमा कोरोना संक्रमण भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सर्जिकल वार्ड सिल गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ का ८९ वर्षिय एक बिरामीलाई आइतबार बिहान मात्र कोरोना पुष्टि भएपछि सिल गरिएकाे हाे  ।

बिरामीलाई कोरोना पुष्टि भएको थाहा पाउनेबित्तिकै अस्पतालको सर्जिकल वार्ड सिल गरिएको अस्पतालका उप–निर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार ‘बिरामीमा कोरोना देखिएपछि अस्पतालको सर्जिकल वार्ड सिल गरिएकाे छ ।  उनले भने, ‘बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ ।’ आन्द्रामा समस्या देखिएका उक्त वृद्ध बिरामीको शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

रुकुम पश्चिमका उक्त बिरामी २० वर्षिय नातिका साथ अस्पतालको ईमरजेन्सीमा गत २१ ग्ते साँझ पुगेका थिए । बिरामीको शल्यक्रिया गर्नुपर्ने अवस्था देखेपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि भेरी अस्पतालमा पठाएको थियो । त्यसको रिपोर्ट आइतबार बिहानमात्र आइपुगेको हो ।

बिरामीको प्रत्यक्ष सम्पर्कमा चिकित्सकसहित अन्य धेरैजना आएको पाइएको छ । अहिले अस्पतालका केही चिकित्सकहरुसहित अन्य कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।