पर्सामा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४
वीरगन्ज, पर्सामा आइतबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार पर्साका ३ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पु्ष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
उनीहरुमध्ये पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका २ जना र पटेर्वासुगौली गाँउपालिकाका २ जना छन्। यस्तै पर्सागढी नगरपालिकाका १ जना, जिराभवानी र धोबीनी गाँउपालिकाका १/१ जना छन्।
उनीहरु २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन्। भारतबाट फर्किएर जिल्लाका विभिन्न पालिकास्थित क्वारेन्टाइनमा बसेकामा कोरोना संक्रमण पुष्टि भएको हो।
विभिन्न पालिकाका क्वारेन्टाइनबाट जेठ २५ र २६ गतेका दिन संकलन गरिएको स्वाब, नारायणी अस्पतालमा ल्याएर पिसिआर परीक्षण गर्दा तीमध्ये आइतबार १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका अधिकृत ठाकुरले बताए। पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ। यसअघि शुक्रबार राति पर्साका ६ जनामा संक्रमण पुष्टि भएको थियो।