नयाँ नक्साको स्वागतमा देशभर खुशियाली
काठमाडाैँ, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो।
भारतले हडपेको भूमि समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सा संविधान तथा निशान छापमा समावेश गर्न संविधान संशोधन भएको खुसीयालीमा देशैभर दीपावली गरिएको छ। आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले विधेयक पारित भएपछि साँझ सहिदगेटमा, माइतिघरमन्डेला लगायत देशैभर दीपावली गरिएको हो।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ। योसँगै उपत्यकाको माइतिघर मण्डला लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका हुन्।
मण्डलामा दीप प्रज्वलन गर्ने कार्यक्रम आयोजना गरिए पनि पानी परेकाले रोकिएको छ। प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए।