दाङमा एक युवककाे क्वारेन्टाईनमै मृत्यु

दाङ, कोरोना भाईरस संक्रमणको रिपाेट नआउँदै दाङमा एक युवककाे क्वारेन्टाईनमै मृत्यु भएकाे छ । दाङको बंगलाचुली गाउँपालिकाले सञ्चालन गरेको भुटनेटा क्वारेन्टाईनमा बसेका प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय युवकको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले जानकारी दिएका छन । ती युवक गत जेठ १२ गते क्वारेन्टाईनमा बसेका थिए ।

केहि समय अघि भारतबाट आएर क्वारेन्टाईनमा बस्दै आएका ती युवकलाई बान्ता हुने र स्वासप्रस्वासमा समस्या देखिएपछि शनिवार विहान उपचारको लागि बुटवल लैजाने क्रममा निधन भएको अध्यक्ष वलीले बताएका छन् ।

उनको कोरोना भएनभएको पीसीआर जाँच गरेको रिपोर्ट अझै आएको छैन। उनको जेठ २१ गते स्वाव संकलन गरेर परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको थियो ।