युवाहरु सडकमा आउनुको पछाडि लुकेको मनोविज्ञान
एक जना सामाजिक सञ्जालका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युवाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सामाजिक सञ्जालमा लेखेछन् – सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ को- को तयार हुनुहुन्छ ? लामो लकडाउनबाट निराश र छटपटीमा परेका र घरभित्रै बस्नबाध्य किशोर(किशोरी तथा युवा- युवतीलाई घरबाट बाहिर निस्कने, आफ्नो नैराश्यता छताछुल्ल पार्ने, असन्तुष्टि पोख्ने, युवा स्वभाव अनुसार क्रान्तिकारीपन देखाउने, सामाजिक कार्य गरेको पनि देखिने र रमाइलो पनि हुने जस्ता कुराले उत्प्रेरित गर्यो ।
कोरोनाको सङ्क्रमणलाई समेत भुलेर घेरै युवा सडकमा आउन स्वतस्फूर्त राजी भए । सोसियल मिडियाको पहुँचमा भएका युवा माझ यो सन्देश फैलिन समय लागेन । पहिलो पटक उनीहरुले बालुवाटार अगाडि सरकारका सामु आफ्नो असन्तुष्टि पोखे । त्यस कार्यक्रमले सर्वदा चर्चा पायो । निराश जनताले उनीहरुको कार्यको समर्थन गरे । सरकारको टीकाटिप्पणी बढेर गयो । यसले उनीहरुलाई थप हौसला मिल्यो । यसैको सिको गर्दै देशका अन्य भागमा पनि विरोधहरु भए ।
अर्को पटकको विरोध प्रदर्शनमा त सामाजिक दुरिको पनि ख्याल नगरि ठूलो भिड सडकमा आयो । कोरोनाको सङ्क्रमण फैलिएलाकि भन्ने भय पनि बढयो । संसारभरि नै सरकार र जनताबीच हक र अधिकारका विषयलाई लिएर सधैंजसो टसल परिरहेको हुन्छ । राज्यले समान्य अवस्थामा त जनतालाई सन्तुष्ट बनाउन सकेको हुँदैन, भने विपत्तिको अवस्थामा त झन् कठिनै हुन्छ ।
अहिले धेरैलाई बेरोजगार हुने, रोगजारी गुम्ने चिन्ताले सताएको छ । मानिसले आफुलाई असुरक्षित महसुस गरिरहेकाछन् । यस्तो अवस्थामा मानिसमा चिटचिटाहट, रिस, उत्तेजना, आक्रोश, राज्य र सरकारप्रति असन्तुष्टि र विरोधी भावना बढेर जान्छ । व्यक्तिले कहिलेकाहीँ उद्दण्ड व्यवहार देखाउने, हल्ला फैलाउने, अरुको बहकाउमा लाग्ने, अरूलाई दोष दिने, एकअर्कालाई आरोप-प्रत्यारोप गर्ने जस्ता व्यवहार पनि देखाउन सक्छ । यस्ता व्यवहार देखाएर आफ्नो डर , त्रास, नैराश्यता छोप्ने प्रयासमा लाग्छ । यस्तो विषम परिस्थितिमा मान्छेको निर्णय लिने क्षमता पनि कमजोर भएको हुन्छ । के गर्ने रु के नगर्ने रु सोच्नै सकिरहेको हुँदैन ।
विपत र दुस्खको अवस्थामा नै मान्छेले अरुवेलाभन्दा बढि माया र सहानुभूति खोज्ने गर्दछ । जनताले राज्यबाट पनि अझ बढि साथ सहयोगको आशा गर्दछ । अप्ठेरो अवस्था र अभावमा जनता चाँडो भड्किन्छन् । उनीहरुलाई भड्काउन सजिलो हुन्छ । उनीहरुको भावनामाथि खेल्नेहरुका लागि त ठूलो अवसर नै हुन्छ ।
संकटको वेला मानिसको मनोविज्ञानलाई बुझेर राज्य पनि संयमित हुनु जरुरी हुन्छ । आफ्नोतर्फबाट सक्दो जनताको मागलाई सम्बोधन गर्ने पहल गर्नुपर्छ । जनतालाई आश्वस्त गराउन सक्नु पर्छ । भविष्यप्रति ढुक्क र आशावादी बनाउने काम राज्यले गर्नुपर्छ ।
कुरा सत्य हो, कि अहिले विश्वनै कोरोनाको सङ्क्रमणले ठुलो मारमा परेको छ । कतिपय विषयमा हाम्रो समस्याहरु अझै ठूलो हुनसक्छ । सरकारले गरेका थुप्रै काममा हाम्रो विमति होला । हामी असन्तुष्ट हुन सक्छौं । सरकारका पनि आफ्नै खालका कमीकमजोरी र बाध्यताहरु होलान् । यी सबैका बाबजुद पनि अहिलेको परिस्थितिलाई राजनीतिकरण गरिनु हुँदैन ।
सरकारका कमिकमजोरीहरुलाई केलाएर मात्र बस्नु हुँदैन । साथ र सहयोग पनि गर्नुपर्छ । विपत्तिसँग सबै मिलेर सामान गर्ने हो भने मात्र सफल भईन्छ । कतिपय अवस्थामा विरोधले मात्र समस्याको समधान नहुन सक्छ । विरोधको शैली र समय पनि अनुकुल हुनुपर्छ । अहिलेको अवस्थामा सडकमा राखिएका मागहरुलाई सबैले स्विकार गरेका छन् ।
भोको मान्छेको आगामी मीठो व्यञ्जनको कुरा गर्दा कसको मुख नरसाउला र १रु तर कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढि रहेका वेला गरिएको विरोध प्रर्दशनको तरिका र समयलाई भने उपयुक्त मान्न सकिँदैन । स्वतस्फूर्त निस्केका भनिएका यस्ता आन्दोलनहरु सहि दिशानिर्देश नपाउँदा खतरनाक पनि हुनसक्छन् । नैतिक जिम्मेवारी कसले लिने भन्ने दुबिधा हुन्छ । नेतुत्व बिनाको जमात हुनाले चाँडै भड्किन सक्ने खतरा पनि त्यति नै हुन्छ । यसमा जोसुकैले सजिलोसँग घुसपैठ गर्न सक्ने ठाउँ पाउँछ । युवाहरुको अस्तिको आन्दोलनमा पनि घुसपैठ भएको उनीहरुले बताएका छन् । घुसपैठले नै पछिल्लो पटकको विरोध अमर्यादित भएको देखिन्छ ।
भिडको मनोविज्ञान फरक हुन्छ । भिडको आँखा हुँदैन । भिडले विवेक गुमाउन सक्छ । भनिन्छ नि, भिडभाडमा जिउ जोगाउनु, अनिकालमा बिऊ जोगाउनु । भिडले ज्यान दिन पनि सक्छ । ज्यान लिन पनि सक्छ । पश्चिम रुकुमको दुस्खद घटनामा ६ जना किशोरहरुको ज्यान गयो । यो सबै भिडकै मनोविज्ञानको परिणाम हो । अहिलेको विभिन्न ठाउँहरुमा स्वतस्फूर्त रुपमा गरिएको भनिएका विरोधका कार्यक्रमले पछि गएर कस्तो रुप लिन्छ कसैलाई थाहा छैन । यस्ता अपरिपक्व र योजना विहीन विरोध कार्यक्रमले पछि गएर दुस्खद मोड नलेला भन्न सकिँदैन । यसमा सबै सचेत हुन जरुरी देखिन्छ ।
रुकुम घटनामा पनि कतिपय केटाहरु साथीको साथी मार्फत बेहुली लिन सघाउने भन्दै एक आपसमा चिनजान समेत नभईकन लहैलहैमा लागेर गएको पाईयो । अहिलेको विरोध प्रर्दशनलाई हेर्दा पनि किशोर(किशोरीमा उत्ताउलोपन उनीहरुले लेखेको नाराहरुमा देखिन्छ । धेरै जना लहैलहैमा लागेर आएको हुन सक्छ । उनीहरुले बोकेको प्लोकाडमा पनि लेखिएको छ ( ूम त राम्री केटी हेर्न आकोू ।
भिडले के बुझ्छ , के गर्छ थाहा हुँदैन । रुकुमको घटनामा पनि त्यति धेरै गाउँले छोटो समयमा कसरी आए रु पुर्वयोजना पो थियो कि भन्ने आशंका पनि गरिँदै आएको देखिन्छ । तर भिड जम्मा हुन समय नलाग्न सक्छ । अस्तिको विरोध प्रर्दशनमा पनि यति धेरै जम्मा होला भन्ने कुरा स्वयंम् प्रर्दशनको आह्वान गर्नेहरुले पनि अनुमान गरेका थिएनन् । यसलाई देखेर उनीहरु आफैं चकित परिरहेकाछन् । तर अप्रत्यक्ष रुपमा केही पाटीले सघाई रहेको स्पष्ट देखिन्छ । जुन कुराको ज्ञान उनीहरुलाई थाहा नहुन पनि सक्छ ।
विरोधमा उत्रिएका प्रर्दशनकारीहरुमा राजनीतिको ज्ञान कमै देखिन्छ । नेता र राजनीतिक दलहरुलाई भिडको स्वभावैले लोभ लाग्छ । प्रर्दशनमा ठूलो मास देखेपछि जनताको आवाज भन्दै केही दलहरुले विज्ञप्ती निकालेर नै समर्थन गरे । प्रर्दशनको नेतुत्व गरेका कतिपय युवाहरुलाई आफ्नो पाटीमा आउनका लागि निम्ति पनि प्रस्ताव पठाउन भ्याईसके । जुन कुरा स्वयंम् युवाहरुले बताई सकेका छन् । पाटीहरु यस आन्दोलनलाई आफ्नो बनाउन खोजि पनि रहेका छन् । तर अहिले समय उचित नदेखेर चुप लाग्न बाध्य भएछन । कोरोना महामारीको वेला खुलेरै पाटीको झण्डा बोकेर सडकमा आउँदा नैतिक रुपमा पनि अप्ठेरो पर्ने, जनतामा पनि नकारात्मक सन्देेश जाने भएकाले उनीहरु चुप लाग्न बाध्य भएका हुन् । अन्यथा यसले पाटीगत रुप लिई सकेको हुने थियो । तर पनि यस परिस्थिति विपरीतको विरोधलाई देखाएर सरकारको आलोचना गर्न छोडेका छैनन् ।
अहिलेको अप्ठेरो अवस्थामा सबैले आफुलाई सम्हाल्न, संयमित हुन तथा मिलेर समस्याको समधान खोज्नु उपयुक्त हुन्छ । अरुलाई भड्काउने, अर्काको भावनामाथि खेलबाड गर्ने कार्यले कसैको हित हुँदैन ।
(लेखक मनोविद् हुन् । मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)