हामी कतिपटक अग्नि परीक्षामा रहने ? प्रधानमन्त्रीज्यू, अन्याय नगर्नुस् : राजेन्द्र महतो
काठमाडौं, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको छ। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले आजको दिन ऐतिहासिक भएको बताएका छन्।
‘“सबै असन्तुष्टिका बाबजुद पनि राष्ट्रियता र भूमिको सवालमा ल्याइएको संविधान संशोधन प्रस्तावलाई जनता समाजवादी पार्टीले समर्थन गर्दछ,” उनले भने, “प्रत्येक मधेसी जनता सीमाको रक्षामा जुटेका छन् । तर मधेसीलाई अहिले पनि राष्ट्रवादी देखिँदैन । हामी कतिपटक अग्नि परीक्षामा रहने हो । प्रधानमन्त्रीज्यू, अन्याय नगर्नुस् । सबैको बन्नुस् । भूमिमात्रै होइन, जनतालाई पनि हेर्नुस् । अब नक्सामात्रै होइन । भूमि पनि ल्याउनुस् ।”
‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्’, महतोले भने । राष्ट्रियताको सवाल आउँदा मधेसीले गर्दैन भन्नु गलत भएको उनले बताए । ‘राष्ट्रियता कसैको एकलौटी होइन । राष्ट्रियता सम्पूर्ण नेपाली जनताको हो । आजबाट राष्ट्रियताको परिभाषा ठिकसँग लेख्नुपर्छ ।’
उनले संवेदनशील घडीमा एकता देखाउनुपर्नेमा जोड दिए । ‘यो समयमा हामीले एकता देखाउनुपर्छ’, महतोले भने, ‘आफ्नो भूमिका लागि नेपाली जनताले एकता नदेखाए कसले देखाउँछ र ?’
नक्सालाई लिएर संविधानको अनुसूचीमा परिवर्तन गर्ने कुरा आएकोप्रति खुसी व्यक्त गर्दै उनले प्रस्तावको पक्षमा समाजवादी पार्टीले सर्वसम्मत रुपमा समर्थन गरेको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संविधान संशोधन गर्ने प्रस्ताव आएको छ’, उनले भने, ‘हाम्रो पार्टी संविधान संशोधनको पक्षमा सर्वसम्मत समर्थन गर्दैछ ।’

