राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता आउँदैछ : प्रचण्ड

काठमाडौं,  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमाएको नेपाली भूमि गणतन्त्रमा फिर्ता प्रक्रियामा रहेको बताएका छन् ।

प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि शनिबार प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्र आएपछि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताएका छन् । उनले भने, ‘निरंकुश पञ्चायती तानाशाहीका प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने दिनमा हामी आइपुगेका छौं ।’

गुमेको नेपाली भूभाग फिर्ता ल्याउनका लागि कानूनी रुपमा प्रक्रिया अघि बढिसकेको उनले बताए । उनले ठूलो संघर्ष र बलिदानपछि प्राप्त गणतन्त्रलाई सुदृढ गर्ने र राष्ट्रिय एकता कायम गरिराख्न सबै नेपाली नागरिक लाग्नु पर्ने बताएका छन् ।