नयाँ नक्सा समेटिएको निशान छाप प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं, प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो । जसअनुसार संविधान संशोधनका लागि भएकाे मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपलेक र लिम्पियाधुरा आफ्नो भूभाग भन्दै नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसको विरोध गरेको थियो । लकडाउनको अवधिमा भारतले उक्त भूभाग हुँदै चीन जोड्ने सडकको उद्घाटन गरेपछि नेपालले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, ०७७ प्रतिनिधिसभाबाट पारित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनि राखेको प्रस्तावमा मतविभाजन गरिएको थियो । २५८ जना सांसदहरु उपस्थित भएका थिए ।

मत विभाजन गर्दा प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्नेमा २५८ जना सांसदहरुले हस्ताक्षर गरेका थिए भने विपक्षमा अर्थात् हुन्न भन्नेमा हस्ताक्षर गर्ने कोही पनि सांसद थिएनन् । सभामुख अग्नी सापकोटाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक मतविभाजनका लागि प्रस्तुत गरेका थिए ।

सो क्रममा सांसदहरुले हस्ताक्षरसहितको मतविभाजन गरेका हुन् । सो क्रममा संशोधनको विपक्षमा मत नपरेपछि विधेयक सर्वसम्मत पारित भएको हो । प्रतिनिधसभाबाट पारित भएपछि विधेयक अब राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभामा पनि प्रस्ताव प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, त्यसमाथि संशोधन दर्ता गराउने, प्रतिवेदनसहित विधेयक पारित गरिनेछ । संघीय संसदको दुबै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ ।