क्वारेन्टाइन बसेको २४ घण्टापछि कोरोना संक्रमित बल्ल आईसुलेशनमा
भालुवाङ, दाङको देउखुरी स्थित कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर निर्धारित समय भन्दा दुई दिन ढिला सञ्चालनमा आएकाे छ । आज शुक्रबार मात्र तयार भएपछि आइसोलेसन सेन्टरमा राप्ती गाउँपालिकाका ६ जना कोरोना संक्रमितलाई भर्ना गरिएको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको थियोे ।
उनीहरू मध्ये एकै घरका ३ जना परिवार समेत संक्रमित भएका छन् । जसमा नवप्रतिभा आधारभूत विद्यालय पाखापानीको क्वारेन्टाइनमा बसेका वडा नम्बर १ का एक जना ३० वर्षीय महिला, सहित १२ वर्षका बालक र ३२ वर्षका पुरूष गरी एकै घरका तीन जनामा कोरोना पोजेटिभ देखिएको हाे । त्यस्तै नवज्योती आधारभूत विद्यालय सिरिचाैर मसुरीयाको क्वारेन्टाइनमा बसेका वडा नम्बर ३ का १८, २२ र २७ वर्षका पुरूषमा कोरोना पुष्टि भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
उनीहरू सबैलाई शुक्रबार आज दिउँसो आइसोलेसन सेन्टरमा भर्ना गरिएको राउतले जानकारी दिए । संक्रमितहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याएका थिए । उनीहरूको आजबाटै उपचार सुरू हुने स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।
स्थानीय पालिकाको आर्थिक सहयोग, नेपाली सेनाको श्रमशक्ति, राप्ती प्राविधिक शिक्षालयको पूर्वाधार सहयोगमा राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन सेन्टर सञ्चालनमा आएको राउतले जानकारी दिए । रिपुमर्दन गण दाङले आइसोलेसन बनाउन काम पाएको थियो । दाङमा बेडको अभाव हुँदा संक्रमितको उपचार प्रभावित हुन थालेपछि १ सय बेडको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
संक्रिमतको उपचारलाई प्रभावकारी बनाउन देउखुरीका चार वटा स्थानीय तहको आर्थिक सहयोगमा आइसोलेसन सेन्टर बनाइएको बताईएकाे छ । दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले आइसोलेसन सेन्टर बनाउन १५/१५ लाख रुपैयाँ उपलब्ध गराउने, चारवटै पालिकाका स्वास्थ्यकर्मी उपचारमा खटिने भएका छन् ।
स्थानीय र प्रदेश सरकारले अघि सारेको योजनामा सेनाले जनशक्ति उपलब्ध गराएर सहयोग गरेको हो। कोरोना संक्रमण फैलदै गएपछि सेना परिचालन गर्ने संघीय सरकारले यसअघि नै निर्णय गरिसकेकाे छ । नेपाली सेनाको सुरक्षा र व्यवस्थापन रहने गरी २ जना फिजिसियन चिकित्सक, ४ वटै पालिकाकाबाट ८ जना चिकित्सक, ८ जना नर्स, ४ जना ल्याव टेक्निसियन र ८ जना कार्यालय सहयोगी रहने छन् । थप स्वास्थ्य उपचारको लागि प्रदेश र केन्द्र सरकारबाट समेत समन्वय हुने बताइएको छ ।