दाङमा स्वाब परिक्षणमा ढिलासुस्ती, ३ हजार भन्दाबढी परिक्षणको प्रतिक्षामा
दाङ, कोरोना भाइरस परिक्षणका लागि दाङमा बिहीबार सम्म ६ हजार भन्दा बढीको स्वाब संकलन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० पालिकाहरुमा गरी जम्मा ६ हजार ७ सय ८८ जनाको स्वाब संकलन गरिएको हो । जसमध्ये ३ हजार १ सय ७७ जनामा कोरोना देखिएको छैन । अहिलेसम्म दाङमा ९४ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ भने संक्रमण देखिएका ९४ जनामा पनि ३२ जना निको भएर घर फर्किएका छन् ।
६ हजार ७ सय ८८ जनाको स्वाब संकलन गरिएकोमा अझै ३ हजार ५ सय १७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । घोराही उपमहानगरपालिकामा मात्र १४ सय १ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ४ सय ५३ जना, राजपुर गाउँपालिकामा १ सय ७७ जनाको, राप्ती गाउँपालिकामा १ सय ६२ जना, शान्तिनगरमा २ जना, बंगलचुलीमा ५ सय ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी गढवा गाउँपालिकामा ३ सय ४० जना, बबईमा ४ सय ४३ जना, लमही नगरपालिकामा ११ जना र दंगीशरण गाउँपालिकामा २३ जनाका रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन चन्दले बताए ।
कुन पालिकामा कति संक्रमित ?
स्वास्थ्य कार्यालय दाङका अनुसार कोरोना भाइरस पोजेटिभ देखिएका ९४ जनामा सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा ३२ जना रहेका छन् । त्यसपछि बंगलाचुली गाउँपालिकामा २१ जना रहेका छन् ।
कोरोना पोजेटिभ देखिनेमा लमही नगरपालिकाका १० जना, गढवा र राप्ती गाउँपालिकामा ८/८ जना, राजपुर गाउँपालिकामा ६ जना, तुलसीपुर उपमहानगरपालिकामा ७ जना, बबई गाउँपालिकामा २ जना रहेका छन् । तर अहिलेसम्म दंगीशरण र शान्तिनगर गाउँपालिकामा भने कोरोना संक्रमित देखिएका छैनन् ।
कुन पालिकामा कति जना क्वारेन्टाइनमा ?
क्वारेन्टाइनमा रहेनेको संख्या पनि सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा १५ सय ४७ जना रहेका छन् । तलसीपुर उपमहानगरमा ६ सय ६५ जना, राजपुर गाउँपालिकामा १ सय ४० जना, राप्तीमा ६ सय ६२ जना, शान्तिनगरमा २ सय २० जना, बंगलाचुली गाउँपालिकामा ६ सय ४१ जना रहेका छन् ।
त्यसैगरी गढवामा ३ सय ८१ जना, बबईमा ५ सय ८५जना, लमही नगरपालिकामा १ सय १४ जना र दंगीशरण गाउँपालिकामा ८६ जना रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जम्मा दाङमा अझैै क्वारेन्टाइनमा ५ हजार ४१ जना रहेका छन् । दाङमा क्वारेन्टाइनको बेड संख्या भने १० हजार १ सय २२ वटा रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै घोराहीमा ३ हजार ४ सय ९२ रहेको छ । सबैभन्दा कम क्वारेन्टाइनको बेड संख्या दंगीशरणमा १ सय २० वटा मात्र रहेको छ । यता स्वाब संकलन गरिएकाहरूकाे परिक्षण रिपाेर्ट आउन भने ढिला सुस्ती देखिएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा काेराेना परिक्षण भईरहेकाे छ, तर परिक्षणमा ढिलासुस्ती देखिएकाे बताईएकाे छ ।

