भारतीयले सशस्त्र प्रहरीको बन्दुक खोसेपछि झडप, एक जनाको मृत्यु
सर्लाही, सर्लाहीको पर्सा ३ मा बलजफ्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली चलाएको छ । गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । घटनामा पाँच जना भारतीय घाइते भएका छन् ।
आज (शुक्रबार) बिहान करिब नौ बजे नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरीको दाबी छ । त्यस क्रममा पाँच जना भारतीयलाई गोली लागेको छ ।
गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको जनाइए पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसको पुष्टि गर्न बाँकी छ। मृतकको नाम, ठेगाना खुलेको छैन ।
पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट भारतीय नागरिक बलजफ्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी महोहन बाहादुर जिसीले पुष्टि गरे । सिडिओ जिसीका अनुसार सुरुमा ४०र४५ जना भारतीय जवरजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेका थिए ।
‘नेपाल प्रवेश गर्न खोज्दा सुरुमा सुरक्षाकर्मीले उनीहरुलाई रोके, त्यसपछि उनीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थाले । सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेका थिए,’ सिडिओ जिसी भन्छन्, ‘फेरि ६०६५ जनाको हुलामा आएर प्रहरीमाथि ढुंगामुढासाथै हतियार खोस्ने प्रयार गरे । त्यसक्रममा प्रहरीले फेरी हवाई फायर गरेर उनीहरुलाई भगाए ।’
त्यस क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए । हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।