क्वारेन्टाइनबाट घर फर्किंदै गरेका बिष्टको बाटोमै मृत्यु
कालिकोट, कालिकोटको नरहरीनाथ गाउँपालिका–१ ६० वर्षीय कालीबहादुर बिष्ट क्वारेन्टाइनबाट फर्किंदै गर्दा बाटोमा नै मृत्यु भएको छ । जेठ १४ गते भारतबाट आएर खाँडाचक्र नगरपालिका–१ चन्द्रसूर्य होटेलको क्वारेन्टाइनमा बसेका बिष्टको घर फर्किंदै गर्दा नरहरीनाथ गाउँपालिका–१ को लालीघाटमा मृत अवस्थामा फेला परेका हुन् ।
जेठ १४ गते भारतबाट आएका बिष्ट खाँडाचक्र नगरपालिका–१ को होटल चन्दसूर्य गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा १६ दिन बसेर आरडीटी परीक्षणमा कोरोना नेगेटिभ देखिएका जेठ २९ गते घर पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए ।
‘उनीसँगै क्वारेन्टाइनमा बसेका ६८ जनामा आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि हामीले घर पठाएका हौँ’ उनले भने, ‘भर्खर बाटोमा मृत्यु भएको खबर आयो ।’
मृतक बिष्टको पीसीआर स्वाब परीक्षण लागि स्वास्थ्यकर्मीको टोली लालीघाटतर्फ लागेको सूचना अधिकारी महतले जानकारी दिए । ‘मृतक विष्ट श्वासप्रश्वासको बिरामी रहेका थिए’ उनले भने, ‘लालीघाट बजारमा बिष्ट २९ गते बेलुका पुगेको बिहान मृत अवस्थामा फेला परेको जानकारी पाएका छौँ ।’

