सिसिएमसीको बैठक सिंहदरबारमा

काठमाडौँ, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक पहिलो पटक सिंहदरबारमा बसेको छ । यसअघि सिसिएमसीको कार्यालय नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा बस्ने गरेको थियो । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले सिसिएमसीको पुनर्गठन गरेसँगै सिसिएमसीको बैठक सिंहदरबारमा बस्न सुरू गरेको हो ।

सीसीएमसीको सदस्यमा कृषिमन्त्री घनश्याम भुसाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुन थपिएका छन् । यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलसहित गृहमन्त्री रामवहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा. युवराज खतिवडा थिए ।

सेनाको गणमा गएर राजनीतिक नेतृत्वको बैठक बसेकोमा केही मन्त्रीहरूले आलोचना गरेपछि बैठक सिंहदरबारमा बस्न सुरू गरेको हो । सरकारले कोभिड १९ संक्रमण नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाएर कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई प्राथकितामा राखेको छ ।