जसले कोरोना लागेको पत्तै नपाई ज्यान गुमाए

काठमाडौं, क्वारेन्टाइनमा बस्दा बिरामी भएपछि अस्पताल भर्ना हुन गएका अर्घाखाँचीका एकजनाको बुधबार बाटोमै मृत्यु भएको छ । अस्पतालले भर्ना नगरेपछि क्वारेन्टाइनमा फर्किंदा मृत्यु भएका ५७ वर्षीयलाई कोरोना संक्रमण भएको बिहीबार रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले बताए ।

१५ जेठमा भारतको मुम्बईबाट आएका उनी मालारानी गाउँपालिका– ४ को क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको एक सातापछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । त्यसपछि उनको कोरोना परीक्षणका लागि २३ जेठमा स्वाब संकलन गरेर भैरहवा प्रादेशिक अस्पताल पठाएको थियो ।

एक सातासम्म रिपोर्ट नआएपछि उनी २७ जेठमा उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क गएका थिए । जिल्ला अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । त्यही दिन बुटवल पुगेका उनलाई अस्पतालले भर्ना गरेन । कोरोनाको रिपोर्ट आएपछि मात्रै भर्ना गर्ने भन्दै अस्पतालले भर्ना नगरेको उनका छोराले बताए । अस्पतालले भर्ना नगरेपछि उनी २८ जेठमा औषधि बोकेर फेरि क्वारेन्टाइनतर्फ फर्केका थिए । तर, क्वारेन्टाइनमा नपुग्दै बुधबार साँझ उनको बाटोमै मृत्यु भएको छ ।

यसअघि प्रादेशिक अस्पताल पठाएको उनको स्वाबको नमुना पनि हराएको खबर आयो । त्यसपछि पुनः मृत्यु भएपछि बुधबार स्वाब संकलन गरिएको मालारानी स्वास्थ्य संयोजक भविश्वर खनालले बताए । उनका आफन्त दुई दिन उनको शवलाई पौवामा राखेर बसेका थिए । बिहीबार कोरोनाको रिपोर्ट आएको छ । उनलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विकले बताए । नयाँ पत्रिका दैनिकबाट