‘लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुन्छ’ : सर्वोच्च
काठमाडौं, सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउन सरकारले दिएको आदेश खारेज गर्दै लकडाउन खुलेको ३० दिनभित्र बुझाए हुने आदेश दिएको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।
बुधबारको सुनुवाइपछि भएको अन्तरिम आदेशको विवरण बिहीबार सर्वोच्च अदालतले सार्वजनिक गरेको हो ।
आन्तरिक राजस्व विभागले कर तिर्न जारी गरेको सूचना जेठ २० गतेबाट बढाएर असार ७ पुर्याएको थियो । कर तिर्न ताकेता गरेको सूचनाले व्यवसायीहरु मारमा परेको भन्दै अधिवक्ता सिर्जना अधिकारीलगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
सर्वोच्च अदालतले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ । यसअघिको फैसलामा सार्वजनिक यातायात खुलेपछिको अवस्थालाई लकडाउन खुलेको मानिने भनी व्याख्या गरेको थियो ।