सरकार ! १० अर्ब खै ? भन्दै देशभर बिरोध, चितवनमा पनि प्रदर्शन

चितवन, कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै चितवनमा  प्रदर्शन गरेका छन्। उनीहरुले सरकारलाई दश अर्ब पैसा के मा खर्च भयो ? कर केका लागि ? जस्ता प्रश्न गर्दै प्रदशर्न गरेका हुन ।

जिल्लाका विभिन्न स्थानबाट भरतपुरमा जम्मा भएका युवाहरुले राष्ट्र भक्तिका गीत बजाउँदै प्ला कार्ड प्रदर्शन गरेका छन । सरकारले गरेको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, पीसीआर जाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थापन राम्रो गर्नुपर्ने लगायत माग प्रदर्शनकारीको छ।

सरकारले कोरोना उपचारका लागि १० अर्ब रुपैयाँ खर्च भएको सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ। यसै विषयलाई लिएर हिजो बुधबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो। आज पनि प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भइरहेको छ।

पोखरामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

कास्कीको पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पोखराको राष्ट्र बैंक चोकमा भेला भएका युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्रीका कारण जनताले दुख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् । नाराबाजी गर्नेहरुले नेपालको राष्ट्रिय झण्डा पनि बोकेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही युवालाई पक्राउ गरेको छ ।

विराटनगरमा पनि र्‍याली

कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै पूर्वको विराटनगरमा पनि प्रदर्शनी भएको छ । प्रदर्शनमा विराटनगरका युवाहरुले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन् । प्रदर्शनकारीले १० अर्ब खोई, आरडीटी होइन पीसीआर परीक्षण, सरकार कि जाग कि छाड आदि लेखिएको प्लेकार्ड बोकेका थिए ।

बिहीबार र्‍याली निकाल्दै प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका युवाहरुले कोरोना भाइरस संक्रमण परीक्षणका आरडीटी विधिको परीक्षण बन्द गरेर पीसीआर विधिबाट गर्न माग गरेका छन् । बिहीबार स्वतस्फूर्त रुपममा सडकमा निस्किएका युवाहरुले प्रदेश मुख्यमन्त्रीको कार्यालय र विराटनगर महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।