सवारीसाधन जोर बिजोर प्रणालीमा चल्ने

काठमाडौं, सरकारले चैत ११ गते यता जारी लकडाउन खुकुलो बनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले तय गरेको सुरक्षा मापदण्ड पूरा गरेर बजार बिहीबारदेखि नै खुला गर्न दिने गरी लकडाउनलाई सहजीकरण गर्दै लैजाने निर्णय गरेको हो।

तत्कालका लागि कुनै निर्धारित समयको मोडालिटीका आधारमा भन्दा पनि वस्तुस्थितिलाई ध्यानमा राख्दै केही सहजीकरण गर्दै जाने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको एक मन्त्रीले बताए। उनका अनुसार नम्बर प्लेटका आधारमा निजी सवारी साधन पनि चल्न दिने निर्णय भएको छ। ट्याक्सी, मोटरसाइकल लगायत निजी सवारी साधन अब बिहीबारदेखि नै जोर,बिजोर प्रणालीका आधारमा चल्नेछन् । लामो दूरीका सार्वजनिक सवारी साधन भने अहिले चल्न दिइने छैन ।

निरन्तरको लकडाउनले सर्वसाधारणको जीवन कठिन बनेको भन्दै लकडाउन खुकुलो बनाउने गरी मोडालिटी तयार पार्न सरकारमाथि तीव्र दबाब थियो । मोडालिटी बनाउन सरकारले केही सातायता तयारी बैठक गरिरहे पनि कुनै निर्णय लिन सकेको थिएन । निजी कार, ट्याक्सी सेवालाई जोररबिजोरमा चल्न दिने निर्णयमा पुगेको सरकारले कृषि लगायत क्षेत्र पनि खुला गर्ने निर्णय गरेको हो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको मोडालिटीलाई छलफलपछि सरकारले पारित गरेको हो । बुधबार मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले दिएका सुझावलाई बिहीबार बिहान थप परिस्कृत गर्ने तय भएको छ।

मन्त्रिपरिषद् बैठकले तयार पारेको मोडालिटी बिहीबार ९आज० दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने ती मन्त्रीले जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।