संशोधन फिर्ता लिन सरिता गिरीलाई समाजवादीको निर्देशन, नलिए कारबाही
काठमाडौँ, समाजवादी पार्टीले सांसद सरिता गिरीलाई नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि व्यक्तिगत रुपमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बुधबार एक विज्ञप्ति जारी गर्दै सांसद गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीका तर्फबाट कारबाही गर्ने उल्लेख पनि गरिएको छ ।
सांसद गिरीले बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने स्रोत र प्रमाण नखुलाएको बताएकी थिइन् ।
सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची-३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो।

