क्वारेन्टाइनमा बसेका मजदुरबाट १ हजारका दरले शुल्क उठाइयो

काठमाडौं, क्वारेन्टाइन व्यवस्थापनकै नाममा संघ, प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ खर्चिएका छन् । तरपनि, मेचीनगर नगरपालिका–१ का जनप्रतिनिधि भने क्वारेन्टाइन व्यवस्थापनकै लागि भनेर प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क उठाइरहेका छन् ।

मेचीनगरको तिरिङस्थित जनकल्याण आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरूबाट स्थानीय सरकारले शुल्क उठाएको हो । पछिल्लो पटक यहाँ भारतका विभिन्न सहरमा मजदुरी गरेर फर्किएका २५ नेपाली बसेका थिए । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किदा उनीहरूबाट शुल्क उठाइएको हो । ‘वडाध्यक्षज्यूले क्वारेन्टाइनमा बसेबापत पैसा माग्नुभयो । भारतबाट कैयौँ दिन लगाएर फर्किँदा बचाएको पैसा पनि उहाँलाई दियौँ,’ क्वारेन्टाइनबाट निस्केका एक मजदुरले भने । शुल्क नतिर्नेलाई होम क्वारेन्टाइनमा पठाउने धम्की वडाध्यक्ष पासाङ तामाङले दिएको उनीहरूले बताएका छन् ।

क्वारेन्टाइनमा बसेको १४ दिनपछि कोरोना नदेखिएको प्रमाणपत्र दिएर मंगलबार घर पठाउदै वडाध्यक्ष पासाङ तामाङले क्वारेन्टाइनमा बस्नेहरूका लागि खाना व्यवस्थापन गर्न शुल्क उठाएको बताए ।

तर, क्वारेन्टाइनमा बस्नेहरूले भने धेरै व्यवस्था आफँैले गरेको बताएका छन् । उनीहरूले ओढ्ने–ओछ्याउने पनि घरबाटै मगाएका थिए । वडा कार्यालयले म्याट मात्रै दिएको उनीहरूको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकबाट