कालिकोट टिपर दुर्घटना अपडेट : खुल्यो मृतक, घाइते र बेपत्ताको पहिचान

कालिकोट, कालिकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको बताइएकाे छ । 

दुर्घटनामा परी ३  जना बेपत्ता छन् । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की रहेका छन् । उनीहरुको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको प्रहरीले जनाएको छ ।

कालिकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो । टिपरमा ३९ यात्रु सवार रहेको थियो ।

साथै टिप्पर चालक रंगनाथ धमला प्रहरीकाे नियन्त्रणमा रहेकाे बताइएकाे छ ।