नवराजले न्याय नपाए दलित युद्ध हुन सक्छ : अध्यक्ष परियार

भालुवाङ,  दलित मुक्तिमाेर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सुरज परियारले हाम्राे देशमा नबराज बिक जस्ताले न्याय पाउँदैनन् भने फेरि दलितहरूले जातिय युद्ध गर्ने चेतावनी दिएका छन् ।

रूकुम पश्चिममा भएको जघन्य घटनाको विरोधमा दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा भईकाे विरोध प्रदर्शन पछिकाे सभालाई सम्बाेधन गर्दै दलित नेता परियारले यस्ताे चेतावनी दिएका हुन् ।

नेत्रबिक्रम चन्द बिपल्प निकट दलित मुक्ति माेर्चाका नेता परियार राज्यले दलित युवा नबराज सहित मृतक ६ जनालाई न्याय र दाेषीलाई हदै सम्मकाे कार्वाहीकाे माग गरेका छन् । याे देशकाे परिवर्तनमा दलितले जति अरू जाति ज्यान नगुमाए तर शासन गर्ने ठाउँमा जहिले पनि गैर दलित मात्र किन ? उनले प्रश्न गरे ।

यदि नबराजकाे न्यायका लागि हामी ८० लाख दलितले युद्ध गर्नु पर्छ भने पनि पछि पर्दैनाै परियारले भने । नेपाल दलित सञ्जाल राप्ती गाउँपालिका र सिलाई तथा कपडा व्यवसायी संघ सिसहनियाँले दलित युवा नवराज विक सहितका ६ जनालाई लखेटी लखेटी मारेको भन्दै साेमबार सिसहनियाँ बजारमा बिरोध प्रदर्शन तथा बिराेधसभा गरेको थियाे ।

विभिन्न नारा लगाउँदै ¥यालीले सिसहनियाँ बजार परिक्रमा गरी सिसहनियाँ बजारको प्रतिक्षालयमा बिराेधसभामा परिणत भएकाे थियाे । उक्त बिराेधसभालाई सम्बोधन गर्दै अन्य दलित अगुवाहरूले एक्काइसौ शताव्दिमा आएर पनि दलित माथि हुने जातीय छुवाछुत हुनु दुखद भएको बताएका थिए । देशमा कानुन हुँदाहुँदै पनि कानुनको उपहास गरेर दलित युवालाई हत्या गरिनु योजनाबद्द भएको भन्दै हत्यामा संलग्न सबैलाई कडा कारवाहीको माग गरेका छन् ।

हिजोको दिनमा तिनै दलितलाई प्रयोग गरेर सत्ता संचालनमा पुगेका व्यक्तिबाटै दलित समुदाय अपहेलित हुनु परेको बताएका छन् । उनीहरू जातिय भेदवाद तथा छुवाछुत गर्नेलाई संविधान र कानुनले तोके बमोजिम हदै सम्मको कारबाही हुनु पर्ने, ज्यान मर्ने र आपराधिक घटना घटाउने व्यक्ति पहिचान गरी आजीवन कारावास हुनुपर्ने, कसैको प्रभाव र दवाबमा नपरी निष्पक्ष अनुशन्धान हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने र उक्त घटनाको छानबिन नहुँदै भ्रामक र घटनालाई कमजोर पारेर दोषीलाई उम्काउने जस्ता सामाजिक संजालमा पोष्ट गर्नेलाई कानुनी दायरामा लिएर कारवाही हुनुपर्ने माग समेत राखेका छन् ।

कार्यक्रमलाई सिलाई तथा कपडा व्यवसायी संघ लमहीका अध्यक्ष प्रदिप परियार, समाजसेवी श्रीबहादुर परियार, सिलाई तथा कपडा व्यवसायी संघ सिसहनियाँका अध्यक्ष ठगेन्द्र परियार र बुद्धिजीवी रामबहादुर सुनार लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । नेपाल दलित सञ्जाल राप्ती गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनारको अध्यक्षता एवम् राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य संजिप छिनालको प्रमुख आतिथ्यता र दलित मुक्ति मोर्चा दाङ जिल्ला सदस्य राजेन्द्र पुजालीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन पदम परियारले गरेका थिए ।

जाजरकोटका युवा नवराज बिक र रुकुम पश्चिमकी मल्ल थरकी युवती सँग लामो समय प्रेम सम्बन्ध रहेको थियो । तिनै मल्ल थरकी प्रेमिकालाई बिहे गर्न भनेर घरबाट हिडेका जाजरकोटका युवा नवराज बिक सहित ६ जनाले ज्यान गुमाएका थिए ।