कोहलपुर मेडिकल कलेजमा बिरामीलाई कोरोना देखिएपछि सबै सेवा बन्द
कोहलपुर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा इमरजेन्सी र ओपिडी सेवा बन्द गरिएको छ । अछामबाट सोमबार दिउँसो ल्याइएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा इमरजेन्सी र ओपिडी सेवा बन्द गरिएको हाे ।
‘अछामबाट ल्याइएकी बिरामीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि अहिलेलाई इमरजेन्सी र ओपिडि सेवा बन्द गरेका छौं’ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले भने ‘अहिले एकप्रकारले अस्पताललाई सिल गरेर अब के गर्ने भनेर छलफलमा जुटेका छौं ।’
दिसा रोकिएर हेलिकोप्टर मार्फत ल्याइएकी २५ वर्षिय गर्भवती महिलामा सोमबार साँझ पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियाे ।
डाक्टरसहित १४ जना क्वारेन्टिनमा
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डाक्टर, नर्सिङ कर्मचारी र सहयोगी गरी १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
मंगलबार बिहान अछामबाट रिफर गरिएकी एक महिलामा स्वाब परीक्षणको क्रममा कोरोना पुष्टि भएपछि उनकाे उपचारमा खटिएका १४ जना डाक्टर, नर्स र कर्मचारीलाइ क्वारेन्टाइनमा राखिएकाे हाे ।
२५ वर्षिय गर्भवती महिलामा कोरोना पुष्टि भएपछि उनको उपचारमा संग्लन डाक्टर, नर्स तथा सहयोगीहरुलाई क्वारेन्टिनमा राखिएको अस्पतालले जनाएकाे छ ।