कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्तकको संख्या १५
काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर ११ का कोरोना संक्रमित ६८ पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती पुरुषमा सोमबार (हिजो ) कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
सोही दिन उनलाई नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पतालको कोभिड आईसीयूमा रिफर गरिएको थियो । ज्वरो, मधुमेह र उच्च रक्तचापका बिरामी रहेको प्रवक्ता गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
कोरोना संक्रमितको नारायणी किनारमा गरियो अन्त्येष्टि
चितवनको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको मंगलबार अन्त्येष्टि गरिएको छ ।
भरतपुर महानगरपालिका– ११ का ती वृद्धको देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारको खयरघारीमा अन्त्येष्टि गरिएको हो ।
उनको परिवारको सल्लाह अनुसार शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पहिला जलाउने भन्ने कुरा थियो, सोही अनुसार तयार पनि गर्यौं, पछि परिवारका सदस्यको सल्लाहमा खाल्डोमा गाड्ने कुरा भयो’ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने, ‘एक्साभेटर लगेर खाडल खनेर गाडेका छौं ।’
भरतपुर अस्पतालको आईसीयूबाट नेपाली सेनाको टोलीले उनको शव उठाएको थियो । शवको अन्त्येष्टिमा उनका ज्वाई सहभागी भएको जनाइएको छ । मृतक वृद्ध भोजाडमा छोरीज्वाईको घरमा बस्दै आएका थिए । उनका छोरा विदेशमा छन् ।