५ चरणमा लकडाउन खुकुलो बनाउने तयारी अन्तिम चरणमा
काठमाडाैँ, कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि ५ चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ ।
असार १ बाट लागू हुने गरी अघि सारिएको उक्त प्रस्तावलाई स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरूले अध्ययन गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको ५ चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरू र विभिन्न मन्त्रीहरूबीच उक्त प्रस्तावलाई लिएर छलफल भएको थियो । छलफलका आधारमा ५ चरणको लकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिष्कृत गर्न लागिएको सचिव विडारीले जानकारी दिए ।
आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई खुकुलो बनाउन उच्चस्तरीय समितिले सुरुमा तीन चरणको मोडालिटी अघि सारे पनि अहिले ५ चरणको नयाँ मोडालिटीलाई नै अघि बढाउने लक्ष्य राखिएको छ ।