बाँके आइसोलेसनमा रहेका एकजना कोरोना संक्रमित फरार
नेपालगञ्ज, बाँकेमा आइसोलेसनबाटै कोरोना संक्रमित फरार भएका छन् । बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगञ्जका एकजना कोरोना संक्रमित व्यक्ति फरार भएका हुन् ।
जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा बसेका नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षीय कोरोना संक्रमित सोमबार राति फरार भएको प्रहरीले जनाएको छ ।
४१ जना संक्रमित राखिएको उक्त आइसोलेसनबाट सोमबार राति फरार भएको जानकी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।
जेष्ठ ९ गते क्वारेन्टाइनमा राखिएका ती युवाको कोरोना परीक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई जानकी गाँउपालिका वडा नं. २ मा रहेको आइसोलेसन सेन्टरमा राखिएको थियो ।
संक्रमित व्यक्ति फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरी उनको तीब्र रुपमा खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।