प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि छलफल सुरु

काठमाडौं, प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि सैद्धान्तिक छलफल सुरु भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्। त्यसपछि उक्त विधेयकमाथि सांसदहरुले बोल्ने क्रम सुरु भएको छ।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद बालकृष्ण खाणले विधेयकका पक्षमा मतदान गर्न कांग्रेस केन्द्रीय समितिले संस्थागत निर्णय गरेकाे जानकारी गराए। उनले भने, ‘नक्सालाइ संविधानकाे अनुसूचि अनुकूलन गर्नका लागि ल्याइएकाे विधेय सकारात्मक छ । यसकाे पक्षमा नेपाली कांग्रेसकाे दृढ समर्थन छ।’

नेपालको निशान छापमा अध्यावधिक नेपालको नक्सा समेट्नका लागि संविधान संशोधन विधेयक दर्ता भएको थियो। छलफलमा सांसदहरु कृष्णभक्त पोखरेल, राजेन्द्र श्रेष्ठलगायतले भाग लिएका छन्।