तिलोत्तमामा सामूहिक हत्या गरिएका पाँचै जनाको सनाखत
रुपन्देही, रूपन्देहीमा सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा सोमबार राति पाँचजनाको हत्या भएको हो ।
मृत्यु हुनेमा सात वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेको प्रहरीले जनाएको छ । माधव र जानकी श्रीमान–श्रीमती हुन् ।
कान्छीबजारका कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने उनीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
हत्या आरोपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेको छ। गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । हत्या गरेर तन्नामा शव बेरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त भैंसी फार्म स्थानीय कृष्ण पुनले सञ्चालन गर्दै आएका थिए ।