आफ्नै शरीरमा आगो लगाएका युवकको उपचारका क्रममा मृत्यु
नेपालगंज, अछामको बयालपाटा अस्पतालबाट नोकरीबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार ती कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगंज पठाएका थिए।
अस्पतालले हालै ३३ जना कर्मचारीलाई हटाएको थियो। तीमध्ये सरसफाईको काम गर्ने साँफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका थिए। अस्पतालले हटाएको चिठी दिएदेखि नै सिद्धार्थ तनावमा रहेको उनका सहकर्मी बताउँछन्। आफूलाई आगो लगाउनुअघि आउजीले ५ मिनट भाषणसमेत गरेका थिए।
महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा छन्। बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ।
उनले आगो लगाए लगत्तै अस्पतालका कर्मचारी, प्रहरी र स्थानीयले आगो निभाएर उनलाई बचाएका थिए। गम्भरी अवस्थाका आउजीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको पहलमा सिम्रिक एयरको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज पठाइएको थियो।
बयलपाटा अस्पतालले जेठबाट कर्मचारी कटौति गरेको छ। लकडाउनकै बेला जागिरबाट निकालिएपछि उनीसहितका कर्मचारीहरु तनावमा थिए। सहयोग बन्द भएपछि आर्थिक अभावका कारण कर्मचारी कटौति गरिएको अस्पातलले जनाएको छ।