कोरोना रोकथाममा सरकार असफल भएको कांग्रेसको ठहर

काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निश्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरूपमा असफल भएको निश्कर्ष निकालेको हो ।

सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने भएको छ । पर्याप्त स्वास्थ्य सामग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामग्रीमा व्यापक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको कांग्रेसकाे ठहर छ ।

आइसोलेसन सेन्टरसँगै प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसलाई सुरक्षितरूपमा उनीहरूको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामग्रीको वितरण उचित र न्यायपूर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा कांग्रेसले चित्रण गरेको छ ।

केन्द्रीय सदस्य रमेश लेखकले कोभिड-१९ को नियन्त्रणका निम्ति पूर्णरूपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय बैठकले गरेको जानकारी दिए ।

संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभूति गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । त्यस्तै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोभिड-१९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरूका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।