दाङमा रासायनिक मलको अभाव, चिन्तित किसान
दाङ, धान रोपाईका बेला दाङमा रासायनिक मलको अभाव भएको छ । रासायनिक मल नहुँदा किसानहरू चिन्तित हुन थालेका छन् । अवको १० दिन पछि दाङको देउखुरीमा धान रोपाइँ सुरू हुन्छ तर हामी किसानले मल पाएका छैनाै राप्ती गाउँपालिका ७ भानपुरका कृषक रामगोपाल चाैधरीले भने, उनी जस्तै राप्ती गाउँपालिकाका किसानहरू समयमा रासायनिक मल नपाउदा निरास हुन थालेका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको सिसहनियाँ कृषि सहकारी संस्थाले रासायनिक मल बिक्री गर्ने जिम्मेवारी पाएको भएपनि सहकारीमा रासायनिक मल नहुँदा किसानहरू समस्यामा परेका छन् ।
मल कहिले अाउँछ भनेर दिनहुँ फोन गरेर किसानले हैरान बनाउछन् । सहकारीमा मल अाएको छैन के गर्नु सहकारी संस्थाका अध्यक्ष गरिवु चाैधरीले थाहा अनलाइनलाई बताए । उनका अनुसार सहकारीमा हप्तामा १ सय बोरा मल आउँछ त्यो किसानलाई प्रयाप्त हुँदैन अनि दोष जति हामीले खेप्नु पर्छ ।
कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय लमही र साल्ट ट्रेडिङ कर्पोरेसन घोराहीमा पटक पटक जानकारी गराउँदा मल अहिले छैन केही दिनमा आउँछ भन्दै टार्ने गरेको उनले बताएका छन् । यस विषयमा हामीले साल्ट ट्रेडिङ कर्पोरेसन घोराहीका प्रमुख अानन्द न्याैपाने सँग बुझ्दा साल्ट ट्रेडिङमै मल नभएको बताए ।
उनले कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको लकडाउनका कारण मल आउन नसकेको बताए । दाङ सहित सल्यान र रोल्पा सम्म मल बिक्री गर्ने जिम्मेवारी पाएको साल्ट ट्रेडिङले अहिले मल नभएको र अाए पठाउने सहकारी संस्थालाई बताउने गरेको छ ।
यता देउखुरीको ३२ वटा सहकारी संस्थामा अनुदानको मल विक्रि वितरण गर्ने जिम्मेवारी पाएको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय लमहीमा युरिया, डिएपी र पोटास मल प्रयाप्त नभएकोले मल अभावको सिर्जना भएको शाखा प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिएका छन् ।
धान रोप्ने समयमा शाखा कार्यालय लमहीमा युरिया १ हजार बोरा , डिएपी १ हजार बोरा र पोटास ५ सय बोरा गरि १ सय २५ टन मात्र मल रहेको शाखा प्रमुख श्रेष्ठले बताएका छन् । उनका अनुसार शाखा कार्यालय लमहीमा ५ सय टन युरिया र २ सय ५० टन डिएपी मल आए देउखुरी क्षेत्रमा मल प्रयाप्त हुने पनि उनले बताएका छन् ।