कर्णालीमा थप ५४ जनालाई कोरोना, संक्रमितको संख्या ६४१

सुर्खेत,  कर्णालीमा आज (आइतबार) थप ५४ जनामा कोरोना भाइरस संक्रमण संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण केन्द्र सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रप्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २८ जना, सुर्खेतका २० जना र दैलेखका ३ जना रहेका छन् । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका तीन जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ।

१८ सय स्वाब प्रयोगशालामै थन्कियो

यसैबीच कर्णालीमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला परीक्षणको गति भने सुस्त रहेको छ । प्रदेशमा आइतबारसम्म एक हजार आठ सय स्वाब परीक्षण गर्न बाँकी छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा एक हजार पाँच सय र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सय जनाको स्वाब परीक्षणको पर्खाइमा छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका नागरिकको स्वाब परीक्षणमा ढिलाइ हुँदा स्थानीय तहलाई व्यवस्थापनमा समस्या भएको छ । प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सुर्खेत, सल्यान, जाजरकोट, दैलेखलगायतका जिल्लाका स्वाब परीक्षण हुन बाँकी रहेको प्रयोगशालाका इन्चार्ज ओम आचार्यले बताए । उनले एक दिनमा दुई सय भन्दा बढी स्वाब परीक्षण गर्न नसकिने पनि बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ १८ गतेदेखि शनिबारसम्म संकलन गरिएका तीन सय जनाको स्वाब परीक्षण हुन सकेको छैन । दैलेख, कालीकोट, जुम्ला, डोल्पालगायतका जिल्लाबाट संकलन भएको स्वाब परीक्षण नभएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।