एम्बुलेन्समा चरेस, ३ जना पक्राउ
सर्लाही , एम्बुलेन्स मार्फत् बिरामीको ओसारपसार मात्रै नभइ गलत कार्य पनि भइरहेको आरोप लागि रहेको बेला सर्लाहीमा एउटा एम्बुलेन्समा चरेस बरामद भएको छ । लागुऔषध ओसारपसार गरेको आरोपमा तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही सदरमुकाम मलंगवाबाट भारततर्फ ८ किलो चरेस लैजाँदै गरेका एम्बुलेन्स चालक र त्यसमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । शनिबार राति साढे ११ बजे मलंगवाबाट भारतीय बजार सोनवर्षातर्फ जाँदै गरेको रामदुलार रायलाई दशगजा नजिकबाट आठ किलो चरेससहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा ज १ च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन राय यादव, उनीसँगै रहेका स्थानीय नथुनी ठाकुर र एम्बुलेन्सबाट चरेस भारतीय बजार लैजाँदै गरेका मलंगवा नगरपालिका–८ का रामदुलार राय रहेका छन् ।
उनीहरुको साथबाट ८ किलो एकसय ३५ ग्राम लागुऔषध चरेस बरामद भएको हो । पक्राउ परेकाको बयानको आधारमा प्रहरीले आइतबार बिहान एम्बुलेन्स चालक यादवलाई नियन्त्रणमा लिइएको र एम्बुलेन्स खानतलासी गर्दा थप एकसय ३५ ग्राम चरेस बरामद भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन ।

