स्थानीयले ढुङ्गामुढा गरेपछि ६ सशस्त्र प्रहरी घाइते
नवलपरासी, नवलपरासीमा गोली चलेको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ ।
भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्ने सवारी चेकजाँच गर्ने क्रममा चेक पोष्टमा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो ।
नवलपरासीको प्रतापपुर गाउँपालिका-५ बसहिया चेक पोस्टमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षकको टोली माथि २ सय बढी जनालो समूहले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त चेक पोष्टमा रहेका ६ जना सशस्त्र प्रहरी घाइतेसमेत भएका छन् । भिड नियन्त्रण गर्न सशस्त्र प्रहरीले ४ राउण्ड गोली चलाएको हो ।
घटना स्थलमा सशस्त्र प्रहरीको डिएसपीको टोली खटाएको छ ।