सौन्दर्यचेत !

बसिबियाँलो

सुन्दरता + चेतना = सौन्दर्यचेत

अर्थात, ‘सुन्दर भनेको यस्तो हो’ भनेर, सोच्ने हाम्रो चेतना।

ल तपाई आँखा बन्द गर्नुस्

‘सुन्दर महिला’ भन्ने बित्तिकै, दिमागमा कस्तो चित्र आउँछ? ‘सुन्दर पुरुष’ भन्ने बित्तिकै, कस्तो पुरुषको खयाल आउँछ?

मैले सोधेको प्रश्न भुईमा झर्न नपाउँदै,

‘राम्री केटी’ भनेको यस्तो यस्तो भाको …

‘राम्रो केटो’ भनेको उस्तो उस्तो भाको …

तपाईको दिमागमा एउटा ‘जबाफ’ आइसक्यो। अझ भनु, सुन्दरता भनेको यही मात्रै हो भनेर बुझ्ने गरेको एउटा बुझाई, मुखाग्र छ हामी सबै सबैलाई। साँच्ची, हामीलाई ‘यस्तो’ किन लाग्छ होला ??? हामीहरू किन यस्तो सोच्छौ ?

अफ्रिकाका काला चिल्ला प्रजातिका मान्छेहरू
युरोपतिरका हिउँ जस्तै गोरा बरिष्ठ मान्छेहरू

अनि, अमेरिका तिरका अग्ला खैरा-कपाल भएका मान्छेहरू… हामी बाँचिरहेको, यो दक्षिण एशियाका गहुँगोरा मान्छेको नजरमा सुन्दर कहलिदैनन् । ठीक त्यसरी नै, जसरी हामी ती कुनैपनि ठाउँमा सुन्दर मानिदैनौ।

यस्तो किन भाको ?

यस्तो कसरी भाको ?

यो ‘सौन्दर्यचेत’ भन्ने जिनिश, समाजले परा-पूर्वकाल देखि नै, मान्छेहरूमा सिर्जित गर्देको एउटा ठूलो ‘गलत बुझाई’ हो। आज हामी बाँचिरहेको युगमा, यो ‘सौन्दर्यचेत’ हामीले हुर्काइरहेको सबैभन्दा ठूलो ‘कलंक’ हो।

एउटा उदाहरण नै लिऊ न !

‘संसारका हरेक प्रश्नहरुको जबाफ भएको’ भनिएको ‘भागवत गीता’मा, भगबान श्रीकृष्ण निलो रङ्गको छाला भएका मानव थिए ! भनेर भनिन्छ/पढाईन्छ/देखाईन्छ।

के भारत वर्षमा जन्मिएका, उनको यो अलौकिक क्षमता थियो ? अहँ ! उनी काला छाला भएर जन्मिएका थिएँ । र, हाम्रो सौन्दर्यचेतले उन्को त्यो दुर्गुण मेट्न, गोरो छाला भएको मान्छे पक्कै बनाउन सक्थेन्। र त, ‘कालो’लाई ढाकछोप गर्दै निलो बनाइयो।

हो, यसरी हुन्छ हाम्रो ‘ब्रेन-वास’।

तब न, सौदर्य व्यापार आज विश्वको चौथो ठूलो ब्यापार भएर उभिएको छ। तब न, मान्छेहरू ‘सुन्दर’ बन्न यत्तिका मेहेनत गरिरहेछन्। पैसाको खोलो बगाई रहेछन्।

यति लेखिरहँदा, सम्झिन्छु, समाजशास्त्री ‘आहुति’ले भनेका, मलाई गज्जब लागेका कुराहरू;

कोही पनि केटी राम्री हुन्न

कोही पनि केटो राम्रो हुन्न

अनि,

सबै केटी राम्री हुन्छिन्

सबै केटा राम्रा हुन्छन्।

(यो ‘लेख’ तयार गर्दा, रिसर्चका क्रममा भेटिएर, मलाई सबैभन्दा मन परेको ‘मेटाफोर’ हो यो )

मैले, मेरी एकजना साथीलाई, “तिमी सुन्दर हुनु भनेको, हेर्दा राम्री देखिनु भन्ने फिटिक्कै हैन। छाला राम्रो भएर केही हुँदैन, चाला राम्रो हुनुपर्छ के !” भनेर, मेकअप गरेर धेरै ढिलो गर्न लागेपछि भनेको थिएँ।

कलेजले लिन लागेको ‘वन-भोज’को गाडी छुटोस्, केही-केही छैन। त्यतिका धेरै मान्छेहरू आत्तिऊन, मतलब भएन। तर, राम्री देखिनै पर्यो। यो, एउटा अर्को ज्वलन्त उदाहरण हो ‘सौन्दर्यचेत’को ।

(यस्ता बग्रेल्ती उदाहरणहरु छन् । जो; हाम्रो दैनिक जीवनमा घटिरन्छन्। के-के मात्रै लेखि सक्नु अब ? तपाई जस्तो बुझक्की मान्छेलाई ईशारा काफी हैन त ? )

मान्छेहरू भन्छन्,

‘किलियोपेट्रा’ नाम गरेको एउटी अचम्मै राम्री महारानी थिई । यो, उही जमानाको कुरा हो। उसको सुन्दरताको अगाडि संसारका सारा राजा-महाराजाहरूले घुँडा टेकेका थिएँ। अझ यस्तो पनि भन्छन् मान्छेहरु, “किलीयोपेट्रा’को नाक अलिकति मात्रै बाङ्गो भएको भए, आज दुनियाँको नक्सा अर्कै हुन्थ्यो।”

ल हामी ठण्डा दिमागले सोचौ

त्यो पनि एउटी महिला उस्तै हाम्रा जस्तै दुईटा आँखा। उस्तै हाम्रो जस्तै नाक। कानको कुरा पनि त्यही। हाम्रै जस्तै शरीर। त्यसो भए, त्यत्तिका धेरै मान्छेहरू किन मरिहत्ते गरेर पछि लागे त ?

के तपाई गाई-किन्दा, ‘दूध दिने गाई राम्रो’ भनेर किन्नु हुन्छ कि, सिंह-पुच्छर राम्रो भएको हेरेर। कि, फल दिने रुख राम्रो लाग्न छोडेर, हेर्दा हरिया-परिया देखिने झार राम्रो लाग्छ? कतै, जिन्दगी बदल्ने मोटा-मोटा ‘दर्शन’का किताबका अगाडि, फुलबुट्टे गाता भएका ‘कमसल’ किताबहरु पो राम्रा हुन कि?

पढेर यहाँसम्म पुग्नु भएको ‘प्रिय पढाकु मान्छे’

हामीहरु, अरू कुनैपनि कुराहरुमा ‘सुन्दर’ भनेर त्यसको देखावट हेर्दैनौ/खोज्दैनौ। किनकि; हाम्लाई थाहा छ, ‘सुन्दर’ देखिनु नदेखिनुले त्यो कुराबाट हामीले लिने फाइदाको कुनै जोडा नै मिल्दैन। त्यसो भएँ, ‘किन हामी आफूहरुमा चै, सौन्दर्य भनेको बाहिरी कुरा हो’ भन्छौ त?

(यो त कतैबाट पनि नमिल्ने ‘बुझाई’ भयो नि त! हैन र?)

यो, हामीलाई नजानिदो गरी, हजारौ वर्षहरु बाट दिमागमा एकछापे पारेर ठोसिएको विचार हो।

ताकि, ‘हामी अपूर्ण छौ !’ भन्ने सधैभरि लागि रहोस्। अनि, यी उपभोक्तावादी बाठा मान्छेहरु, हाम्रो यो सोचाईको फाइदा लागेर, हामीमा अनेकन कुराहरूको व्यापार गर्न सकुन् । उदाहणका रुपमा; सिनेमा उद्योग, सौन्दर्य सामग्रीको व्यापार, ‘सामाजिक सञ्जाल’को खेलो, सुन्दरी प्रतियोगिता, अनि अरू पनि कति कति …

यति पढिसकेपछि, हामीले आजसम्म भन्ने गरेको सुन्दरता, बाहिरी आवरण मात्रै हो! भनेर त, फेरीफेरी लेखिरहनु परेन मैले।

नभए;

‌हिजोसम्म ‘रोल मोडल’ भएर मनमा बसिरहेको कुनै मान्छे, उसको केही गलत बानी थाहा हुने बित्तिकै, हामीलाई हेर्न पनि मन लाग्दैन, किन?

‌प्रेममा हुँदा, ‘मेरो संसार’ लाग्ने प्रेमी वा प्रेमीका, धोका दिएर जाने बित्तिकै किन घृणाको नजरले हेर्छौ हामी ?

‌जति नै नजिकको साईनो भएका नातेदार, आफन्त वा साथिभाई भएपनि… बानी बिग्रिदै गएपछि, ती मान्छेहरू, किन फिटिक्कै मनपर्न छोड्छन् हामीहरूलाई  ?

आखिर; सुन्दरता भनेर हामीले बुझेको त्यो शरिर, अनुहार, मान्छे, केहीकेही त फेरिएको हुँदैन। सबैसबै पहिले जस्तै त हुन्छ।

पढेर यहाँसम्म आउनु भएको ‘प्रिय पढाकु मान्छे’

(हतार नगरिकन बिस्तारै पढ्नुहोला, कृपया)

त्यसो भए ‘सुन्दरता’ भनेको के त ?

सुन्दरता त्यो चीज हो; जो विचारसँग गासिएको हुन्छ ।

जसरी एउटी आमा; आफ्ना काला-गोरा-राता-पहेलो, ठूला-साना, चोर-डाका, सरकारी जागिरे, अल्लारे… सबैसबै प्रकारका छोराछोरीलाई एकैनाले मन पराउँछे। सुन्दर ठान्छे। यो पो हो त सुन्दरता।

तर बढो दुःखको कुरा यो छ कि;
कुनैपनि मान्छेले, कत्तिको समाज बुझेको छ ? कत्तिको जीवन उपयोगी पुस्तकहरू पढेर, आफ्ना विचारहरू माझेको छ। अरुहरुको जिन्दगी उठाउने कुरा गर्छ.. आदि जस्ता कुराहरूले, मान्छेको सुन्दरता नापिदैन हाम्रो समाजमा।

बरु, त्यसले कति पैसा कमायो? कति घर-जग्गा जोड्यो?? आदिजस्ता भौतिक र क्षणिक कुराहरू पो सुन्दर कहलिन्छन् त, हामी सबै सबैका नजरमा।

मेरी दिदीले, “मलाई रोनाल्डो ह्याण्डसम भएकाले मेसी भन्दा बढी मनपर्छ !” भनेको सुन्दा, मैले प्रस्टै बुझेको हु  हामीमा सौन्दर्यचेत कसरी गढेर बसेको छ ? भनेर।

यी, रोनाल्डो-मेसी मेरो पनि साईनो लाग्ने मान्छे हैनन। तर म, उनीहरूले खेल्ने फुटबल शैलीका कारण, उनीहरु दुबैलाई उत्तिकै बराबर सुन्दर मान्छु । न कि; हेण्डसम सेण्डसम वाला ताई-न-तुईका आधारमा …

ठिक यसैगरी,

मेरा ‘ब्लग’हरु पढिसकेपछि, हरकोहिले मलाई, “त सुन्दर छैनस्!” भन्ने अधिकार छ। न कि; मेरो शरीरको बनावट हेरेर। व्यक्तिगत कारणले। मान्छे हुनुको अहमता बोकी.. अनि मेरा ‘ब्लग’ पढ्दै नपढी, “छि: मन परेन” भन्ने आँट गरोस्। अहँ, सुन्दरता भन्ने कुरा यस्तो फिटिक्कै हुँदै हुँदैन।

र सही मानेमा भन्ने हो भने;

‘सुन्दरता’ भनेको कुनैपनि मानिसको गुण हो। उसको चारित्रिक विशेषता हो। उसको बानी व्यवहार हो। उस्ले हामीलाई पार्ने प्रभाव हो। जो, समय सँगसँगै बढाउँदै बढाउँदै लान सकिन्छ। यो पो हो त असली सुन्दरता।

न कि, हामीले बुझ्ने गरेको अधकल्चो ‘बुझाई’।

साँच्ची, सोध्नै बिर्सेको

आफ्नै नजरमा आफू कत्तिको सुन्दर हुनुहुन्छ नी  ?