विश्वमा कोरोना संक्रमितको संख्या ६८ लाख ३९ हजार नाघ्यो
काठमाडौं, लकडाउन, सामाजिक दूरी कायम, परीक्षणमा तीब्रता र उपचारमा सक्रियता जारी रहे पनि विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा खासै कमी आउन सकेको छैन । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या चार लाख नजिक पुगेको छ ।
आज (शनिबार) बिहानसम्ममा विश्वभर तीन लाख ९७ हजार ४४१ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमणबाट चार हजार ९०१ जनाले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितको संख्या ६८ लाख ३९ हजार २४४ पुगेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ३० हजार २८६ जनामा संक्रमण देखिएको छ । यसले कोरोना संक्रमणदर झन् झन् बढ्दै गएको देखाएको छ ।
शुक्रबार ब्राजिलमा सबैभन्दा बढी एक हजार आठ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अमेरिकामा नौसय ७०, मेक्सिकोमा ८१६, बेलायतमा ३५७, भारतमा २८६, रुसमा १४४, पेरुमा १३१ जनाले ज्यान गुमाएका छन् । संक्रमणबाट अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ११ हजार ३८५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी बेलायतमा ४० हजार २६१, ब्राजिलमा ३५ हजार ४७, इटालीमा ३३ हजार ७७४, फ्रान्समा २९ हजार १११, स्पेनमा २७ हजार १३४ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा ३० हजार १३६ जनामा संक्रमण देखिएको छ । त्यसैगरी अमेरिकामा २५ हजार २३६, भारतमा नौ हजार ४७१, रुसमा आठ हजार ७२६, चिली, पेरु र मेक्सिकोमा चार हजार चार सयभन्दा धेरै, पाकिस्तानमा झण्डै चार हजार, इरान र साउदी अरेबियामा २५–२५ सयभन्दा धेरै, बंगलादेशमा दुई हजार ८२८ जनामा संक्रमण देखिएको छ ।