बाँकेमा पत्रकार, प्रहरी र स्वास्थ्यकर्मीसहित ४ जनाले जिते कोरोना
नेपालगन्ज, बाँकेमा ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा रहेका बाँकेको पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी, पत्रकार र प्रहरीसहित ४ जना कोरोना जितेर घर फर्किएका हुन् ।
नेपालगञ्ज-२ निवासी कोरोना संक्रमित स्वास्थ्यकर्मी बाँकेको खजुरामा कार्यरत थिइन् भने पत्रकार उनका श्रीमान् हुन् । त्यस्तै गुल्मी घर भएका प्रहरी नरैनापुरमा कार्यरत छन् ।
उनीसहित नरैनापुर कै थप १ जना महिलाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।
शुक्रबार मात्रै नरैनापुर-२ का १२ जना पुरुष र नेपालगन्ज-८ का एक महिला डिस्चार्ज भएका थिए । शनिबार डिस्चार्ज भएकाहरूसँगै बाँकेमा कोरोनाबाट निको भएर फर्किनेको संख्या ४६ पुगेको छ । शनिबार १२ जना नयाँ संक्रमित थपिएसँगै बाँकेमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । संक्रमितमध्ये १ जनाको मृत्यु भएको छ ।