बाँकेमा थप १२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २६७ पुग्यो
नेपालगन्ज, बाँकेमा कोरोना संक्रमितहरुको संख्या २६७ पुगेको छ । शनिबार भेरी अस्पतालको प्रयोशालामा परिक्षणबाट पुष्टि भएका १२ जनासहित बाँकेमा संक्रमितको संख्या २६७ जना पुगेको हो ।
पछिल्लो समय भारतमा रहेका नेपालीहरु फर्किने क्रम बढेसंगै बाँकेमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । यसअघि गत बिहिबार मात्रै बाँकेका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एव कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा पछिल्लो समय एकैपटक एकै क्वारेन्टाइनमा संक्रमितहरु धेरै देखिने गरेको बताए । उनका अनुसार अहिले भेटिने संक्रमितहरु सबै रोजगारीमा भारत गएर फर्किएकाहरु हुन ।
नेपालीहरु फर्किने क्रमसंगै बाँकेमा क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । जिल्लाका बिभिन्न स्थानहरुमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेहरु क्षमताभन्दा बढि राखिएका कारण व्यवस्थापन गर्न गाह्रो भएको खटिएका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
शुक्रबार नेपालगञ्जको लायन्स डेन्टल आइसोलेशन सेन्टरमा रहेकाहरुमध्ये नरैनापुरका १२ जना र नेपालगञ्जका १ जनाको दोस्रो पिसिआर परिक्षण नतिजा नेगेटिभ आएपछि घर फर्काइएको छ भने आज शनिबार नेपालगञ्ज २ का एक जना स्वास्थ्यकर्मीसहित २ जना घर फर्किन लागेका छन् । जिल्लामा हालसम्म कोरोना जितेर फर्किनेहरु ४४ पुगेको छ । त्यस्तै नरैनापुरका एक युवाले ज्यान गुमाएका छन् ।