पत्रकारमाथिको दुर्व्यवहार रोक्न आयोगको आग्रह

काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुर्व्यवहार रोक्न आग्रह गरेको छ। आयोगले शनिबार विज्ञप्ति प्रकाशित गरी लकडाउनको अवधिमा समाचार संकलनका क्रममा हिँडेका २२ जना सञ्चारकर्मी गिरफ्तार, आक्रमण, धम्की र दुर्व्यहारमा परेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो।

आयोगले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन, पत्रकारको सुरक्षाका सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम ल्याई कार्य गर्नसमेत आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारहरुलाई सरकारी निकायबाट सूचना प्रदान गर्न इन्कार गर्ने गरिएको, कतिपय श्रमजीवी पत्रकारहरुले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यमहरु बन्द हुने अवस्थामा रहेको जस्ता कारणबाट नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने देखिन्छ।’